काठमाडौं– सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तथा चिकित्सा शिक्षाका लागि बहुप्रतीक्षित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल कलेज) ले अनुभवी र दूरदर्शी प्रशासनिक नेतृत्व पाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य प्रशासन तथा व्यवस्थापन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव हासिल गर्नुभएका डा. भीमबहादुर चन्द विश्वविद्यालयको रजिस्ट्रार पदमा नियुक्त हुनुभएको हो।
सुदूरपश्चिमको भूगोल, यहाँका नागरिकका स्वास्थ्य समस्या तथा चिकित्सा शिक्षाको आवश्यकता राम्ररी बुझेका डा. चन्दको नियुक्तिलाई प्रदेशको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । गेटा मेडिकल कलेजलाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने र विश्वविद्यालयलाई संस्थागत रूपमा बलियो बनाउने अभियानमा उहाँको अनुभव निकै उपयोगी हुने विश्वास गरिएको छ । Hospital Management विषयमा विद्यावारिधि हासिल गर्नुभएका डा. चन्दले अस्पताल प्रशासन तथा व्यवस्थापन क्षेत्रमा करिब ३० वर्ष योगदान दिनुभएको छ ।
उहाँले काठमाडौं मेडिकल कलेजको स्थापना र प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने पिपुल्स डेन्टल कलेजको प्रमुख कार्यकारी अधिकृतका रूपमा करिब १२ वर्ष सफल नेतृत्व प्रदान गर्नुभएको अनुभव पनि छ । यसका अतिरिक्त उहाँ नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य तथा इथिकल कमिटीका पूर्वसंयोजकसमेत रहनुभएको छ । गेटा मेडिकल कलेज तथा हालको विश्वविद्यालयको प्रारम्भिक योजना निर्माणदेखि पूर्वाधार विकाससम्म प्राविधिक रूपमा प्रत्यक्ष संलग्न रहनुभएकाले संस्थाको उद्देश्य, चुनौती र सम्भावनाबारे उहाँ गहिरो ज्ञान राख्नुहुन्छ ।
लामो समयदेखि सुदूरपश्चिमका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय चिकित्सा शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको अपेक्षा गर्दै आएका छन्। डा. चन्दको नेतृत्वमा विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान, अस्पताल सेवा विस्तार तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा नयाँ गति लिने अपेक्षा गरिएको छ। सुदूरपश्चिमको माटो बुझेका अनुभवी स्वास्थ्य प्रशासकको हातमा विश्वविद्यालयको प्रशासनिक कमाण्ड पुग्नु प्रदेशको स्वास्थ्य क्षेत्रका लागि आशा र सम्भावनाको नयाँ अध्यायका रूपमा हेरिएको छ।

